चितवन कांग्रेसद्वारा जिल्ला बन्द आह्वान, वडाध्यक्षको ज्यान बचाउन अपील



चितवन कांग्रेसले अन्य आन्दोलनका कार्यक्रम सहित जिल्ला बन्द आह्वान गरेको छ । माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशन बसिरहेका र उनको अनसनको सुनुवाइमा सरकारले कुनै चासो नदेखाएपछी चितवन कांग्रेसले अन्य आन्दोलनका कार्यक्रम सहित चितवन बन्दको आह्वान गरेको हो ।

कम्युनिस्ट सरकारले मागहरूका विषयमा चासो नदेखाएपछि  बन्दको आह्वान गरेको चितवन कांग्रेसले  जनाएको छ ।चितवन कांग्रेसका सभापति जीतनारायण श्रेष्ठले सोमबार विज्ञप्ति जारी गरेर फागुन १५ गते चितवन बन्दको आहवन गरेका हुन् ।

विज्ञप्तिअनुसार फागुन १२ गते चौवीसकोटीमा चक्का जाम, फागुन १३ गते साढे १२ बजेदेखि साढे १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना र फागुन १४ गते लायन चोक पुल्चोकमा मसाल जुलुस प्रदर्शन गरिनेछ ।माडी नगरपालिका वडा नम्बर १ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्णप्रसाद पौडेल फागुन ७ गतेदेखि बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरूको समस्या समाधान लगायत सात सूत्रीय माग राखेर अनशनरत छन् ।

सोमबार छैटौँ दिन हुँदा पनि वडाध्यक्ष पौडेलको मागको सुनुवाई नभएपछि चितवन कांग्रेसले दवाव दिन बाध्य भएर बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको सभापति श्रेष्ठले बताए ।अनशन बसेका वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था चिन्ताजनक हुँदा समेत सरोकारवाला निकायबाट चासो दिइएको छैन ।

यो क्षेत्र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र पनि पर्छ । दाहालले माग पूरा गर्ने भनेर पटक पटक आश्वासन दिँदै आएका छन् । तर, मागको कुनै सुनुवाई हुन सकेको छैन ।

विज्ञप्ती

चितवन जिल्ला माडी न.पा. वाड नं. १ का वडा अध्यक्ष नेपाली काँग्रेसका नेता श्री कृष्ण प्रसाद पौडेल फाल्गुण ७ गतेदेखि बाँदरझुला देखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायतका ७ शुत्रीय मागहरु राखी माडीका जनताको समस्या समाधानका लागि आमरण अनशन बस्नुभएको आज छैटौँ दिन बितिसक्दा पनि वार्ताद्वारा मागहरु पुरा गर्न राज्य गम्भिर भएको छैन । हाल अनशनमा बस्नुभएका वडा अध्यक्ष पौडेल स्वास्थ्य स्थिति जटिल भई जीवन र मृत्युको दोसाधमा भरतपुर अस्पतालको सघन उपचार कक्षमा रहनुभएको छ । नेपाली काँग्रेस अनसन भनेको सत्य, न्याय, शालिनता, विनम्रता र असिम धर्मको संगम हो भन्ने कुरामा विश्वास राख्दछ । यस्ता अहिंसात्मक आन्दोलन मार्फत उठाईएका मागहरु राज्यले समयमै समाधान गर्न हरदम प्रयत्नशिल रहनुपर्दछ तर आज छैटौँ दिनसम्म पनि अनसनकारी पौडेलका जायज मागमा वेवास्ता गरिएको प्रति हामी खेद प्रकट गर्दछौँ । उहाँले उठाउनुभएको समस्यालाई नेपाली काँग्रेस चितवन ऐकेबद्धता प्रकट गर्दै उहाँको जीवन रक्षाका लागि दबाब सिर्जना गर्न निम्मानुसार चरणबद्ध आन्दोलनका कार्यक्रमहरु तय गरिएकाले सम्पूर्ण न्याय प्रेमी चितवनबासी दाजुभाई दिदिबहिनीहरुलाई आन्दोलनका कार्यक्रममा सहयोग, समर्थन र सरिक भईदिनुहुन यस विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौँ ।

तपसिल –

प्रथम चरणका आन्दोलनका कार्यक्रमहरु
१। २०७६।११।१२ गते १ बजेदेखि २ बजेसम्म चौबिसकोठीमा चक्काजाम ।
२। २०७६।११।१३ गते १२ः३० देखि १ः३० बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना ।
३। २०७६।११।१४ गते बेलुका ६ बजे लायन्चोकबाट पुल्चोकसम्म मसाल जुलुश ।
४। २०७६।११।१५ गते चितवन बन्द

मितिः २०७६।११।१२ गते

जीतनारायण श्रेष्ठ
सभापति

प्रकाशित मिति : फाल्गुन १२, २०७६ सोमबार  ७ : १६ बजे