कांग्रेस केन्द्रिय सदस्य एबम सांसद डा. मिनेन्द्र रिजालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार लाजमर्दो गरी भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएका छन ।
मंगलबार प्रतिनिधिसभा बैठक शुरु हुनासाथ समय माग गरेर बोलेका नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सरकारमा रहेका व्यक्तिबाट भएका भ्रष्टाचारजन्य गतिविधिले प्रधानमन्त्रीको सर्वाङ्ग गन्हाउने अवस्था सिर्जना भएको बताए ।
सेक्युरिटी प्रेस स्थापनाको लागि ठेकेदार कम्पनीका प्रतिनिधिसँग निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ७० करोड रुपैयाँ घुस मागेको प्रसंग उठाउँदै रिजालले भने, ‘७० करोड घुस दिन्छु भन्नेले त्योभन्दा बढी घुस दिनेलाई चाहिँ यो ठेक्का दिने अवस्था अयो, मेरो ७० करोडभन्दा अझ अर्बौं रुपैयाँ घुस खान थाल्यो यो सरकारले भन्दै हिँड्न थालेका छन् ,योभन्दा लाजमर्दो अवस्था अरु के हुन्छ रु प्रधानमन्त्रीज्यु भ्रष्टाचार गर्दिन्, गर्न पनि दिन्न भन्नुहुन्थ्यो योभन्दा लाजमर्दो के हुन्छ ?
रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिले हिजोका ‘राजा’ हरुले पनि इर्ष्या गरेको हुन सक्ने समेत दाबी गरे ।उनले अघि भने, ‘मदन भण्डारी के भन्दै होलान् ? प्रधानमन्त्री ज्यू, तपाईँको कम्युनिष्ट पार्टी कहाँ छ ? मदन भण्डारीलाई चित्त बुझाउनुहोस्, सर्वाङ्ग गनाउँदै हुनुहुन्छ, संसदमा आएर जवाफ दिनुहोस्, यति होल्डिङ्गसको केक खाँदा लाज लागेन ?
कांग्रेस सांसद रिजालले प्रधानमन्त्री ओलीले जन्म दिन मनाउँदा गरेको ‘तामझाम’प्रति व्यंग्य गरे ।








