नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह बिरुद्द भ्रष्टाचार मुद्दा दायर भएको छ ।उनीसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको स्रोतले जनाएकाे छ।
२०७२ सालमा प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा उनले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि अनुसन्धान गरिरहेको थियो।
अख्तियारले उनीसँग पटक पटक बयान लिइसकेको छ। शाह डिआइजी पदबाट गत माघमा अवकाश भएका हुन्। शाह भ्रष्टाचारमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले पनि उनीमाथि अनुसन्धान गरेको थियो।
डिआइजी शाहसहित तत्कालीन लेखापाल प्रहरी नायव निरीक्षक दिपेन्द्रप्रसाद पनेरु तथा लेखा सहायक प्रहरी हवल्दार केशव सिंह ऐरी, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका तत्कालीन लेखापाल सन्जिब बिशंखेविरुद्ध पनि मुद्दा दायर गरिएको छ।
तत्कालीन मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुर चितवनमा मिति २०७२ वैशाख २७ मा प्रहरी जवानमा भर्ना भई २०७२ पुस २२ मा तालिम सकिएका व्यक्तिरुलाई प्रहरी प्रधान कार्यालयले माघ ११ मा तलब भत्ता सरुवा भएको ठाउँबाट पाउने गरी सरुवा गरेको थियो। तर तत्कालीन समादेशक शाह, पनेरु र लेखा सहायकको मिलेमतोमा जवानहरुको २०७२ माघ र फागुनको तलव भत्तासमेत खर्च लेखि निकालेर आफैंले चलाएर भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।








