पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधावकुमार नेपालले पार्टी यही तरिकाले चलिरहे र जनतालाई खुसी पार्न नसके कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन । ।
मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी रहनको लागि पार्टीले जनता खुसी पार्नुपर्ने र अहिलेकै अवस्थामा त्यो सम्भब नभएको बताएका हुन । उनले भने ‘आफ्नो देशका जनतालाई खुसी पार्न सकिएन भने त्यो समाजवाद पनि टिक्दैन, कम्युनिष्ट पार्टी पनि टिक्दैन, त्यो लोकपृय पनि हुँदैन । जुन आफ्नो समाजमा जनताको बीचमा जनताको मन र भावनालाई जित्न सक्नुपर्छ । त्यो मन र भावनालाई बुझ्नालाई फेरीपनि मुल कुरा भनेको उही जनता नै केन्द्र हो ।’
उनले २१ औं सताब्दीको जनवादले प्रतिस्प्रधामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको समेत बताए । समाजवादका राम्रा पक्षलाई लिएर पश्चिम युरोपका केही मुलुकले ठुलो उपलब्धी हासिल गरिसकेको तर समाजवाद मान्नेहरुले पूँजीवादका राम्रा पक्षलाई लिन नसक्दा अझैपनि संघर्ष गरिरहनु परेको नेपालले बताए । उनले जनतासँग एकाकार हुनु, जनताको भाषा बुझ्नु र बोल्नु जनताको भावनासँग सँधै जोडिनु र सम्मान गर्नु, जनतालाई सचेत गाग्रित, संगठित र परिचालित गर्नु जनतामाथि असिम भरोसा गर्नु नै जनताको बहुदलीय जनवादको मुल पक्ष भएको बताए। जवज जनतालाई अधिकार सम्पन्न बनाउने विचार भएकाले चिन्तन काम र आचरण जनताबाट निर्देशित हुनुपर्ने र सुनसान र स्तब्ध निरास वातावरणबीच उत्पन्न दुविधालाई समाप्त पार्नुपर्नेमा जोड दिए ।








