चीनका लागि प्रस्तावित राजदूत पाण्डेको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ ।
सङघीय संसद् संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रस्तावित राजदूत पाण्डेका बारेमा कुनै गुनासो वा उजुरी भएमा त्यस्ता सूचना र उजुरी सङ्कलन गर्न १० दिनको सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
मन्त्रिपरिषद्को यही फागुन १८ गतेको बैठकले उनलाई चीनका लागि आवासीय तथा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र मङ्गोलियाका लागि गैरआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिश गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो । नुवाकोट लिखु गाउँपालिका–१ निवासी प्रस्तावित राजदूत पाण्डे पूर्वपरराष्ट्रमन्त्री छन् ।
नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिशमा राजदूत पदमा नियुक्ति हुनुअघि सङ्घीय कानूनबमोजिम संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्था छ । सुनुवाइ प्रक्रिया अघि बढाउने सन्दर्भमा बैठकले प्रस्तावित राजदूत पाण्डेको शैक्षिक योग्यता र अनुभवबारे अध्ययन गरेको थियो ।
सभापति कर्णले भने, “हाम्रो प्रक्रियाअनुसार प्रस्तावित व्यक्तिको नाम आइसकेपछि उनका विषयमा सर्वसाधारणमा कुनै गुनासो रहेछ भने सूचना र उजुरी आह्वान गर्छौ, त्यसका लागि सरकारी सञ्चारमाध्यममा १० दिने सूचना प्रकाशित गर्ने निर्णय भएको छ ।” उजुरी आइसकेपछि आगामी दिनको बाँकी कार्यक्रम अघि बढ्छ ।








