कालापानीबाट भारतीय सेना हटाउने संकल्प प्रस्ताव संसदको कार्यसूचीबाट कसरी हट्यो ?



नेकपाका सांसद खगराज अधिकारीले बिहिबारको प्रतिनिधिसभा बैठकमा प्रस्ताव गर्ने भनिएको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउने सम्बन्धी संसदमा संकल्प प्रस्ताव पेशनै नभई फिर्ता भएको छ ।

नेकपाका नेतृ तथा सांसद रामकुमारी झाक्री समर्थक भई पेश गर्ने भनिएको उक्त प्रस्ताव पेश नभई फिर्ता भएपछि संसदमा  चर्को बिरोध समेत भएको छ ।उक्त प्रस्तावकी समर्थक रहेको नेकपाकै सांसद रामकुमारी झाँक्रीले अन्तिम समयमा आएर कार्यसूचिबाट हटाएको र हटाउनुको कारण आफूलाई थाहा नभएको प्रतिक्रीया दिएकी छिन । उक्त संकल्प प्रस्ताव संसदमा पेश गर्ने गरी कार्यसूची तय भएको भए पनि अन्तिम समयमा कार्यसूचीबाट हटाइएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसबारे सरोकारवालासँग थप छलफल आवश्यक रहेको बताएपछि सम्भावित कार्यसूचीबाट प्रस्ताव हटेको बताइए पनि  नेकपा श्रोतका अनुसार नेकपाका शिर्ष नेताहरु उक्त प्रस्ताव दर्ता गर्न तयार नभएपछी प्रस्ताब दर्ता गर्ने कार्यसुचीनै बदलिएको हो ।

गत नोभेम्बर महिनामा भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि संसदमा र नागरिक स्तरमा चर्को विरोध भएको थियो ।

 

प्रकाशित मिति : फाल्गुन २९, २०७६ बिहिबार  ९ : २४ बजे