काठमाडौं । पूर्वमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट गराएको आरोपमा पक्राउ परेका तीन जनाको पहिचान खुलाइएको छ । गत फागुन २८ गते पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बम विस्फोट भएको थियो ।
पक्राउ पर्नेहरुमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहार (भिसेक गिरी) रहेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् । उनीहरुलाई प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।
पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको थियो भने बम बिस्फोटबाट एउटा मारुती कार पूर्ण क्षतिग्रस्त भएको थियो।
मन्त्री बाँस्कोटा निवाससँगै रहेका अन्य घरमा समेत सामान्य क्षति भएको थियो ।








