पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । वीरगञ्जका एक प्रतिष्ठित व्यापारी शिवशंकर रूङ्गटालाई कोरोनाको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजले पुष्टि गरेको हो ।
उनलाई ६ दिन अघि वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित रूङ्गटाले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाएपछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
रूङ्गटाका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ । उनको नमूनाको थप परीक्षणका लागि भारतको पुना पठाइएको छ । उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको बताइएको छ । उनी भारतका विभिन्न सहरमा भएका वैवाहिक कार्यक्रममा समेत सहभागी भएर नेपाल फर्किएका थिए ।








