काठमाडौं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले एक महिना लामो लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका छन् । एक टेलिभिजन सम्बोधनमा पुलिस र सेनालाई राष्ट्रपति डुटर्टेले लुजोनको टापुमा लागू गरिएको लकडाउनका वेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्न आदेश दिएका हुन्।
‘मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिती निम्त्याउँछ भने उनीहरुलाई गोली ठोक्नुहोस्,’ उनले बुधबार अबेर राती प्रसारित टेलिभिजन सम्बोधनमा आदेश दिए ।
सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुटर्टोले यस्तो आदेश जारी गरेका हुन् ।
स्यान्टिटाउनका बासिन्दाले दुई हप्ता अघिदेखि लागू गरिएको लकडाउनका बीच आफूहरुले सरकारबाट अन्य राहत सामग्रीका साथै खाद्य सहयता नपाएको गुनासो गरेका छन् । पक्राउ गरिएकामध्ये ६ महिला पनि छन् ।










