कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यावश्यक मेडिकल सामाग्रीहरु सेना मार्फत खरिद गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
अन्य पक्षलाई अविश्वास गरेर सेनालाई जिम्मेवारी दिदा विश्वासको संकट बढेको बताउँदै पौडेलले भनेका छन्, ‘सबै कुरा अब सेनालाई दिनुपर्ने। ठेक्कापट्टामा अरुलाई अविश्वास गरेर त्यसमा पनि सेनालाई जिम्मेवारी दिइएको छ।’
सामाजिक सञ्जाल फेसबुकको भिडियो मार्फत प्रतिकृया दिदै बरीष्ठ नेता पौडेलले भनेका छन्‘सेनालाई जिम्मेवारी दिएपछि राज्य सञ्चालकहरु सुरक्षित ठान्छन्। सेनाले गरेपछि अख्तियारले हेर्न पाउँदैन,जे गरे पनि हुन्छ भन्ने परेको छ।’
राज्य गैरजिम्मेवार देखिएको बताउदै पौडेलले भने, ‘मन्त्रिपरिषदले गरेको निर्णय भनि प्रवक्ताको एक प्रकारको बोली आएको छ, भोलिपल्ट क्याबिनेटको निर्णयमा अर्कै कुरा देखिन्छ।’
खरिद प्रक्रियामा हेराफेरि भएको उनले बताए। साथै,आएका सामान पनि अधुरो आएको उनको भनाइ छ।
अत्यावश्यक सामग्री उत्पादन र किसानलाई खेतिपातीका लागि लकडाउनले अवरोध नगर्ने सरकारी निर्णयलाई बरीष्ठ नेता पौडेलाले सकारात्मक भनेका छन ।
राष्ट्रिय सहमतिको आवश्यकता रहेको तत्कालीन समयलाई ख्याल गरी आफुले सार्बजनिक गरेको धारणाका बारेमा गलत ब्याख्या भएको पनि पौडेलले स्पष्ट पारे ।
बरिष्ठा नेता पौडेलले विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित रहन र लकडाउनको पालना गर्दै सुरक्षित रहन समेत सबैलाई आग्रह गरेका छन ।








