नेपाली कांग्रेस तिलोत्तमा नगर समितिले तिलोत्तमा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ। कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ लाख १ हजार रुपैयाँ सहयोग गरेको कांग्रेसका नगर सभापति हरिलाल पाण्डेले बताए।
नगरप्रमुख बासुदेव घिमिरेलाई सहयोग रकमको चेक हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेले विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा समेत देखा परेको सन्दर्भमा एकद्वार प्रणालीबाट खर्च गर्ने गरी तिलोत्तमा नगरपालिकाले स्थापना गरेको कोषमा रकम सहयोग गरिएको बताए।
कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत सहयोग पुगोस् भनेर पार्टीको तर्फबाट रकम सहयोग गरिएको सभापति पाण्डेले बताए। उनले हरेक विपद्को घडीमा नेपाली कांग्रेस तिलोत्तमा सदैव जनताको साथमा रहने बताए।
सो अवसरमा तिलोत्तमा नगर प्रमुख घिमिरेले नेपाली कांग्रेस तिलोत्तमाले गरेको सहयोगको प्रशंसा गर्दै राहत वितरण कार्य विभेदरहित र पारदर्शी भइरहेको बताए। विपद्को सबै मिलेर सामना गर्नुपर्नेमा उनले जोड दिए।
सहयोग रकम नेपाली कांग्रेस तिलोत्तमा नगर समिति र सबै वडा समितिलाई परिचालन गरी संकलन गरेर एकमुष्ट रुपमा नगरपालिकालाई हस्तान्तरण गरिएको सचिव शिव गैरेले जानकारी दिए।








