कैलालीका कोरोना संक्रमित युवक निको भए



धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् ।  उनलाई आइतबार साँझसम्म डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले बताए ।कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

सेती अस्पतालमा निकाे भएका युवकसँगै नेपालमा चारजना काेराेना संक्रमितकाे सफल उपचार भएकाे छ । देवकोटाले उपचाररत काेराेना संक्रमित २७ जनाको स्वास्थ्य पनि सामान्य रहेको बताए ।

नेपालमा अहिलेसम्म ३१ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार उदयपुरमा थप एकजना ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।

शनिबार एकै दिन धाैलागिरि अञ्चल अस्पतालमा उपचार गराएकी ६५ वर्षीया महिला र काठमाडाैंकाे टेकुमा उपचार गराइरहेकी १९ वर्षीया महिला निकाे भएर डिस्चार्ज भएका थिए । देवकाेटाले काठमाडौं उपत्यकाबाहिरका अस्पतालमा पनि कोभिड– १९ को सफल उपचार हुन सक्छ भन्ने पुष्टि भएकाे बताए ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  ११ : ४४ बजे