इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिकाले प्रवेशमा कडाई गर्ने



विश्वमा महामारीका रुपमा फेलिरहेको नोवल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि इलामको माङसेबुङ गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा प्रवेशमा कडाई गर्ने भएको छ ।

हेल्प डेक्स र सुरक्षा पोष्ट बाहेक अन्य बाटाहरु प्रयोग गरी आफ्नो गाउँपालिकामा प्रवेश गर्नेहरुको संख्या बढेको गुनासो आएपछि शुक्रबार दुई गाउँपालिकाबीच संयुक्त समन्वय बैठक भएको थियो ।

दुई गाउँपालिकाबीच सीमा माङसेबुङ ६ र मिक्लाजुङ ५ संगम स्थल चिसोपानी पञ्चमी बजारमा भएको बैठकले नेपार सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारी बनाउन संयुक्त रुपमा पहल गर्ने निर्णय गरेको छ ।बैठकले दुई गाउँपालिकामा प्रवेश गर्ने अत्यावश्यक सामग्री बाहेकका सम्पूर्णलाई रोक लगाउने, एक आपसमा सूचना आदानप्रदान गर्नुका साथै कोरोना भाइरस सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोको अध्यक्षतामा भएको बैठकलमा मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष उर्मिला राई, प्रमुख प्रशासकीय अधिकृत अरूण राई, माङसेबुङ गाउँपालिकाका प्रशासकीय प्रमुख डिल्लीराम सुवेदी, वडा नम्बर ६ का वडाध्यक्ष प्रदिप साम्पाङ राई, इलाका प्रहरी कार्यालय रविका प्रमुख विजय कार्की, सशस्त्र प्रहरी बल चिसोपानीका प्रमुख काले बम्जम, अस्थायी प्रहरी पोष्ट इभाङका प्रमुख देवराज ढकालसहित स्थानीय बुद्धिजिवी, स्वास्थ्यकर्मीलगायतको सहभागिता रहेको सहकर्मी बालकृष्ण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख ७, २०७७ आईतबार  १२ : १२ बजे