यस अघी सरकारले जारी गरेको अध्यादेश फिर्ता हुँदैमा अपराधलाई कानुनी उन्मुक्ति हुन नहुने कांग्रेसले बताएको छ ।
प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता भए पनि यो प्रकरणसँग गाँसिएको अपहरण शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषीलाई उन्मुक्ति दिन नमिल्ने ब ताएका हुन ।
कांग्रेसको विज्ञप्ति-
१२ वैशाख २०७७
अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई
कानुनी उन्मुक्ति हुनुहुन्न !
चौतर्फी विरोधपछि दुबै अध्यादेश फिर्ता लिन सरकार बाध्य भयो । नेपाली कांग्रेस विविध ढंगले स्वदेश र विदेशमा विरोध प्रकट गर्ने युवा विद्यार्थी, पार्टीका साथीहरू, अन्य दल तथा संचार माध्यमलाई बधाई ज्ञापन गर्दै सरकारको नियोजित नियत प्रष्ट भै सकेको स्थितिमा निरन्तर सतर्कता र एकताका लागि अपील गर्दछ ।
अध्यादेश फिर्ता भएपनि यो प्रकरण संग गांसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाडौं ल्याइएको घटनाका दोषिलाई ‘बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको’ शैलिमा झैं विवादास्पद ढंगले उन्मुक्ति दिन मिल्दैन । नेपाली कांग्रेस यो गम्भीर प्रश्नमा हस्तक्षेपमुक्त गहिरो अनुसन्धान र जो कोहिको संलग्नता रहेपनि ईमानदार कानूनी कार्वाहीका लागि अपील गर्दछ ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग








