विराटनगर स्थित कोशी अस्पतालबाट २ जना संक्रमित निको भएर घर फर्के



विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत भोजपुर र झापाका २ जना कोरोना संक्रमित आज निको भएर डिस्चार्ज भएका छन् ।

गत वैशाख १३ गते अस्पताल भर्ना भएका भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र वैशाख १४ गते भर्ना भएका झापाका ४० वर्षीय महाजिर आलम आज डिस्चार्ज भएका हुन । उनीहरुको पछिल्लो पटक गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालबाट डिस्चार्ज भएका दुवैलाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरंगका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेत लगायतले विदाई गरेका थिए ।

राईले गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका थिए भने झापाका आलम फागुन २७ गते भारतबाट घर आएका थिए । हाल डिस्चार्ज भएपनि राई भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन् भने आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्नेछन । उनिहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अस्पतालले सुझाव दिएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  १० : ४४ बजे