नेपाली कांग्रेसले रुकुम हत्याकाण्डले उब्जाएका प्रश्नमा गम्भीर बन्दै कानुन हातमा लिनेलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ ।
कांग्रेसले मंगलबार दिउँसो विज्ञप्ति जारी गरेर घटनाको निष्पक्ष र गहिरो छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेको हो ।सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भेरी नदीमा बेपत्ता भएका भनिएका अन्य युवाको तदारुकता साथ खोजी गर्न पनि माग गरिएको छ ।
कांग्रेसले रुकुम घटनाले सामाजिक विभेद र बिसंगतिको प्रश्न, राज्य प्रशासनको भूमिकामा प्रश्न र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न उब्जाएको पनि जनाएको छ ।
यी हुन कांग्रेसका नजरमा उब्जिएका तीन प्रश्न
१ सामाजिक विभेद र विसंगतिको प्रश्न
कानुनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ । नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याका दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ ।
२ राज्य प्रशासनको भूमिकामा प्रश्न
लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले गरेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्थ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा । नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ ।
३ निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न
केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं । जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवामाथि आक्रमण गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुनतः अधिकतम दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ ।








