नेपाल प्रेस युनियनको २९औँ स्थापना दिवसको अवसरमा जिल्ला शाखा चितवनले दीप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले मङ्गलबार साँझ कार्यालयमा दीप प्रज्वलन गरेको हो ।
युनियनका केन्द्रय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले कोरोना भाइरसको सङ्क्रमणको समयमा सरकारले पत्रकारलाई प्याकेजको घोषणा गर्न माग गर्नुभयो । अहिलेको विषम परिस्थितिमा पत्रकार विस्थापित हुने अवस्थामा पुगेको भन्दै उहाँले पत्रकारलाई लक्षित गर्दै विशेष प्याकेज घोषणाको माग गर्नुभएको हो ।
अहिले राजधानी बाहिर सञ्चालित पत्रपत्रिका बन्द हुने अवस्थामा पुगेको भन्दै उहाँले यस क्षेत्रको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । यो समयमा जनप्रतिनिधिबाट मनोपोली हुनसक्ने भन्दै उहाँले यसलाई रोक्न पत्रकार सजग हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमणकालीन समयमा भ्रष्टाचार र मनोपोली बढ्न सक्छ यसप्रति तपाईँ हामी सजग रहनुपर्छ ।”
यस्तै प्रेस युनियन चितवनले भरतपुर महानगरपालिका–९ मा रहेको चितवन मानव सेवा आश्रममा रहेका आश्रितलाई खान खुवाएको छ । शाखाका जिल्ला अध्यक्ष अनिल ढकालका अनुसार आश्रममा रहेका आश्रितलाई स्थापना दिवसको अवसरमा खाना खुवाइएको हो । कोरोना भाइरसको सङ्क्रमणका समयमा प्रेस युनियन चितवन शाखाले पत्रकारलाई राहत वितरणदेखि मास्क, स्यानटाइजरलगायत सामग्री वितरण गर्दै आएको छ ।








