कांग्रेसको कार्यसमिति बैठक आज बस्दै , संविधान संशोधनबारे निर्णय हुने



संविधान संशोधनका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (शनिबार) कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठक केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन जारी गरेको छ ।

बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सासम्बन्धी संविधान संशोधनका विषयमा छलफल र निर्णय हुने शर्माले बताए ।

कांग्रेसले संविधान संशोधनमा आधिकारिक धारणा सार्वजनिक गर्न कार्यसमितिको बैठक बोलाएको हो । कांग्रेसले संविधान संशोधनलाई सहयोग गर्ने सकारात्मक सन्देश यसअघि दिइसकेको छ ।

बैठकले संविधान संसोधनका विषयमा संस्थागत निर्णय गर्नुका साथै सरकारले आगामी वर्षका लागि ल्याएको वजेटका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १७, २०७७ शनिबार  ३ : ३५ बजे