प्रधानमन्त्री निवासमा नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने



काठमाडौं । नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्दै छ । आईतवार अपराह्न चार बजे बस्ने सचिवालयको बैठकमा एमसीसी परियोजनाबारे छलफल हुने तय भएको हो ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव रहेपनि पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आइतबार  ३ : ०९ बजे