दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु



नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) मा आज भएको सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ । गाउँपालिकाबाट सदरमुकाम परासीतर्फ आउँदै गरेको गाउँपालिकाकै लु १ झ ३७० नम्बरको स्कार्पियो पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका–४ लक्ष्मीनगरस्थित कल्भर्टमा ठोक्किएर पुलको तल खसेको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते गाउँपालिका अध्यक्ष ५२ वर्षीय शर्माको बर्दघाटस्थित चिसापानी अस्पतालमा उपचारका क्रममा केहीबेर अघि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । सोही गाडीमा सवार प्रतापपुर–५ का हरिलाल राजभर घाइते छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

शर्माको निधनमा शोक व्यक्त गर्न जिल्ला समन्वय समिति र सातै स्थानीय तह सोमबार एक दिन बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका संयोजक शिवशङ्कर रायले जानकारी दिनुभयो ।
परासीस्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन आउने क्रममा आफैँले चलाएको स्कार्पियो कार बर्दघाट–४ मा दुर्घटना हुँदा शर्माको निधन भएको हो ।

प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आइतबार  २ : १६ बजे