अमेरिकासँग वार्ता गर्न उत्तर कोरिया अनिच्छुक



उत्तर कोरियालाई वासिशङ्टनसँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै महशुस नभएको प्योङयाङका उच्च कूटनीतिज्ञले बताएका छन ।

दक्षिण कोरियाले प्योङयाङसँगको सम्बन्ध सुधार्न चाहेको भन्ने सोलको धारणा आएको केही दिनपछि उत्तर कोरियाको यो धारणा सार्वजनिक भएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनलाई अक्टोबरमा अर्को वार्ताका लागि आग्रह गर्ने बताएको समय उत्तर कोरियाका उप विदेशमन्त्री चोए सोन हुईले एक विज्ञप्ति जारी गर्दै अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताएका हुन ।

अमेरिका र उत्तर कोरियाबीचको वार्ताका लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आएका दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले गत मङ्गलबार किम र ट्रम्पबीच अर्को वार्ताको लागि आग्रह गरेका थिए ।  उनले  दक्षिण कोरियाले किम र ट्रम्पबीचको वार्तालाई मध्यस्थता गर्न सक्दो सहयोग गर्ने बताएका थिए ।

“प्योङयाङले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न कुनै आवश्यकता महशुस गरेको छैन,” चोएको विज्ञप्तिलाई उद्धृत गर्दै कोरियाली समाचार संस्था केसीएनएले समाचार लेखेको छ ।

पछिल्ला केही समाचारहरूमा अमेरिकी उप विदेशमन्त्री स्टेफेन वेइगनले आगामी हप्ता उत्तर कोरियाली अधिकारीसँग कुराकानी गर्न सोल आउने उल्लेख भएको थियो । यद्यपि यसको पुष्टि दक्षिण कोरियाली विदेश मन्त्रालयले गरेको छैन ।

प्रकाशित मिति : असार २०, २०७७ शनिबार  १० : ३१ बजे