नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रीय कमिटी बैठकको माग गर्दै आजदेखि हस्ताक्षर संकलन सुरु भएको छ ।केन्द्रीय सदस्य ठाकुर गैरे लगायतका नेताहरुले पार्टीभित्र देखिएको तीव्र मतभेदबारे छलफल गराउन केन्द्रीय कमिटी बैठकको माग गरेर हस्ताक्षर संकलन थालेका हुन्।
पार्टीको असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि पार्टीका नेताहरु तीब्ररुपमा विभाजित भएका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने माग गरेका छन् । तर ओलीले कुनै हालतमा दुवै पद नछाड्ने अडान लिएका छन् ।
विवाद बढ्दै गएपछि स्थायी कमिटी स्थगित गरेर नेताहरू छलफलमा जुटेका छन् । तर आइतबार अपराह्नसम्म कुनै सहमति जुट्न सकेको छैन ।पार्टी विभाजनको खतरा बढ्दै गएपछि केन्द्रीय सदस्यहरूले हस्ताक्षर संकलन अभियान चलाएका हुन् ।
अहिलेसम्म १०० बढी नेताले हस्ताक्षर गरिसकेको नेताहरुले बताएका छन् ।








