नेपाल विद्यार्थी संघले विश्वविद्यालयलाई सत्तारुढ पार्टी नेकपाको भर्ती केन्द्र बनाएको भन्दै त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रेक्टर र रजिष्टार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ। शैक्षिक क्षेत्रलाई कम्युनिष्टकरण गर्ने नियतले विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरिएको संघले जनाएको छ।
‘अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्ने गरी हालै नियुक्त गरिएका विभागीय प्रमुख, क्याम्पस प्रमुखदेखि डिनसम्मलाई खारेज गरी विश्वविद्यालय मापदण्ड अनुरुप नियुक्त नगरुन्जेल सम्मलाई अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी गराउँदछाैं,’ संघका त्रिवि इकाइका सचिव योगन्द्र रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्वपूर्ण प्राज्ञिक नेतृत्वको छनौट, नियुक्तिको आधार वरिष्ठता, कार्यदक्षता र पारदर्शीता हुनपर्ने संघको माग छ। उपकुलपतिलाई बुझाएको ज्ञापनपत्रमा समेटिएका माग सम्बाेधन नभएपछि तालाबन्दी गरेको संघले जनाएको छ। ‘विश्वविद्यालयको रातो किताबको कानुनी वैधतालाई लत्याउने, आफूखुशी व्याख्या गर्ने, वार्ता र संवादको ढोका बन्द गर्ने कार्य अस्वीकार्य हुने संघले जनाएको छ।










