नेपाल टेलिकमले मुलुकको सङ्घीय संरचनानुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । टेलिकमको सञ्चालक समितिको २०७६ फागुन १९ को निर्णयबमोजिम काम शुरु गरिएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।
निर्णयानुसार टेलिकमले मुलुकको सङ्घीय संरचनाबमोजिम कामकाज गर्न सहज हुनेगरी नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, विराटनगर प्रदेश नं . १, प्रादेशिक निर्देशनालय, वीरगञ्ज प्रदेश नं . २, प्रादेशिक निर्देशनालय, काठमाडौँ बागमती प्रदेश, प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश, प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं . ५, प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश र प्रादेशिक निर्देशनालय अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने भएको छ ।
टेलिकमले आइतबार साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई सङ्घीय संरचनानुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्य सम्पादनमा आधारित प्रोत्साहन व्यवस्था लागू भइसकेकाले आफू कार्यरत सम्बन्धित प्रदेश प्रमुख तथा समस्त कर्मचारीको संयुक्त प्रयासबाट प्रदेशलाई दूरसञ्चार सेवा विस्तार, सुदृढीकरण र ग्राहक सेवामा अब्बल सावित गर्ने लक्ष्य रहेको बताए ।