काठमाडौँ । सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । त्यस्तै, सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थ एवं संचार तथा सूचना प्रविधिमन्त्री खतिवडाले भने,’सार्वजनिक यातायात नियमित रूपमा चल्ने भएका छन् । त्यस्तै, निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् । धेरै गतिविधिहरू अब नियमित रूपमा फर्कन्छन् ।’ उनले लामो दूरीको यातायात भने भदौ १ बाट चल्ने बताए ।
सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणालीको पनि अन्त्य भएको मन्त्री खतिवडाले बताए । उनले भने, ‘सरकारी कार्यालय २ सिफ्टमा चलाउने प्रणाली हटाएर नियमित रूपमा १० देखि ५ बजेसम्म चल्छन् ।’ कर्मचारीमा पनि बिहानै कार्यालय जाने भन्ने नपरेको र सेवाग्राहीले पनि त्यसरी सेवा नलिएको पाइएकाले सिफ्टअनुसार कार्यालय संचालन गर्ने कुराको अन्त्य भएको उनले बताए । स्वास्थ्य सुरक्षा अपनाएर नियमित रूपमा कार्यालय संचालन गरिन लागिएको उनको भनाइ थियो ।
कोरोना भाइरसको संक्रमणका कारण सरकारी कार्यालयमा दुई सिफ्टमा खोल्ने निर्णय सरकारले यसअघि गरेको थियो । आगामी दिनमा कोरोना संक्रमणलाई ध्यानमा राखेर स्वास्थ्य सजगता अपनाएर जनजीवनलाई सहज बनाउने निर्णय भएको मन्त्री खतिवडाले जनाएका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।