नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कोरोनालाई जिते



नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कोरोना जितेका छन्। सुर्खेतबाट गृहजिल्ला हुम्ला जानका लागि नेता शाहीले गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो।

शाहीले १० दिनमा नै कोरोना संक्रमण मुक्त भएका हुन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काको प्रत्यक्ष निगरानीमा शाही पिसिआर परीक्षण गर्दा मङ्गलबार रिपोर्ट नेगेटिभ आएको हो।

नेपाल सरकारका पूर्वमन्त्री शाहीले कल्पना नगरेको कुरा आफ्नो जीवनमा आइलाग्दा शुरुमा अलि तनाव भए पनि पछि धैर्य गरेर त्यस अवस्थालाई आफूले सामान्य बनाएको बताए। मिडियाले आफ्नो गोपनीयताको ख्यालै नगरी नामै तोकेर समाचार लेख्दा आफूलाई नमजा लागेको उनको भनाई थियो।

नेता शाहीले रोग लाग्दा कोही कसैलाई निराश र कमजोर नबन्न आग्रह गरे। सो अवधिमा आफ्नो स्वास्थ्यका बारेमा चिन्ता गर्ने तथा विभिन्न माध्यमबाट शुभलाभ प्रकट गर्ने सबै शुभेच्छुकप्रति शाहीले कृतज्ञता व्यक्त गरे।

प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार  ९ : २८ बजे