ओलि र प्रचण्ड बिचको छलफल सहमती नजिक



नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको चार घण्टा लामो संवाद समाधान उन्मुख भएको बताइएको छ। बिहीबारदेखि सुरु भएको दुई अध्यक्षबीचको संवादले सहमतिका लागि ढोका खोल्ने अपेक्षा पनि गरिएको छ।

दुई अध्यक्षबीच विगत ९ दिनदेखि संवादविहिन अवस्था थियो। आजबाट संवाद सुरु भएकाले समाधान उन्मुख भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए। ‘यसबीचमा लामो समय दुई अध्यक्षको भेटघाट हुन पाएको थिएन,’ सापकोटाले भने, ‘बिहीबारदेखि विषयबस्तुमा प्रवेश भएको छ। अरु त्यस्तो कुनै सहमति नभएपनि समाधान उन्मुख हुने गरी छलफल जारी छ।’यस्तै दुई अध्यक्षबीच कुनै सहमति नभएपनि विषयबस्तुमा प्रवेश भई छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले पनि जनाएको छ।

ओली र प्रचण्डबीच गत साउन २० गतेदेखि संवाद हुन सकेको थिए। त्यसअघि उनीहरुले तीन दिन लगातार छलफल गरेका थिए। साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले विजुलीबजार थापा गाउँमा केही पत्रकारसँग भेला गरेपछि प्रधानमन्त्री चिढिएपछि संवाद रोकिएको थियो।

ओलीसँगको भेटबारे प्रचण्डले खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता श्रेष्ठलाई ब्रिफिङ गर्ने बताइएको छ।पार्टीभित्रको विवादमा भित्रभित्रै केही विषयबस्तु पाकी रहेको हुन सक्ने प्रचण्ड निकट एक स्थायी कमिटी सदस्यले बताए।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहिबार  १२ : ४४ बजे