नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोराना संक्रमितलाई अस्पताल भर्ना गर्न, आइसोलेशन तथा आईसियूमा राख्नका लागि मन्त्रालयको सिफारिस चाहिने भन्ने कुरा हास्याँस्पद भएको बताएका छन् । डा कोइरालाले आज सामाजिक संजालमा टिप्पणी गर्दै सो निर्णय तत्काल सच्याउन आग्रह गरेका छन् ।
कोइरालाले महामारीको अवस्थामा समेत भ्रष्टाचारमा लिप्त सरकार जनताको सेवा र सुरक्षालाई ध्यान दिनुको सट्टा राजनीतिक अभिष्ट पूरा गर्न सत्ताको राजनीतिक खेलमा सक्रिय भएको आरोप लगाएका छन् । उनले जनताले सरकार छ भन्ने कुराको अनुभुति नै गर्न नपाएको भन्दै यस्तो गम्भीर अबस्थामा पनि सरकार जनतालाई सुविधा दिने भन्दा समस्या सृजना गर्न लागेको बताएका छन् ।
डा कोइरालाले जटिल परिस्थितिमा फ्रन्ट लाईनमा बसी युद्धस्तरमा काम गर्ने स्वास्थ्यकर्मी , प्रहरी लगायतका सम्पुर्णलाई साथ र सहयोग गर्नु हरेक नागरिकको दायित्व भएको उल्लेख गर्दै बानेश्वर स्थित स्वास्थ्यकर्मीहरुको निवासमा भएको अमानवीय कार्य प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
कोइरालाले अहिले विषम परिस्थिती भनेको स्वास्थ्यकर्मीलाई दृढ आत्मविश्वासका साथ जनताको स्वास्थ्यमा ध्यान दिन प्रोत्साहन गर्ने बेला भएको स्मरण गराएका छन् । कोइरालाले स्वास्थ्यकर्मी तथा सुरक्षा निकायको सहयोग बिना कोभिड १९ विरुद्ध विजय प्राप्त गर्न असम्भव छ भन्ने कुरा सरकार लगायत आम नागरिकले बुझ्नु जरुरी रहेको उल्लेख गरेका छन् ।
कोइरालाले आत्मबल बलियो बनाउँदै सामाजिक दुरी कायम गरि नियमित सरसफाई र खानपिनमा ध्यान दिँदै उच्च सजगता अपनाउन सबैमा आग्रह गरेका छन् ।








