मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा निषेधाज्ञा अवधि थप



कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि जारी निषेधाज्ञाको प्रभाव सकारात्मक देखिएकाले निषेधाज्ञाको अवधि थप गरिएको र आदेशको पूर्ण परिपालना गरी गराइ कोभिड–१९ सङ्क्रमण जोखिम नियन्त्रण गर्ने कार्यमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुबाहेकका अन्य व्यापार व्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोभिड–१९ का कूल सङ्क्रमित पाँच हजार ५९१ जना पुगेकामा सबैभन्दा बढी सङ्क्रमित कैलालीमा एक हजार ६७७ जना पुगेका छन् । यस्तै डोटीमा ९११, अछाममा ८७३, कञ्चनपुरमा ६७३, बाजुरामा ४५२, डडेलधुरामा ३१६, बैतडीमा ३४८, बझाङमा २९७ र दार्चुलामा ४४ सङ्क्रमित पुगेका छन् ।

प्रदेशमा अहिलेसम्म कैलालीका छ, बझाङ र बाजुराका दुई÷दुई तथा अछामका एक गरी ११ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला दिनमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढेपछि प्रदेशका कैलाली, कञ्चनपुरलगायतका जिल्लामा रोगको रोकथामका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । यसैबीच धनगढी उपमहानगरपालिका क्षेत्रमा आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ११ : ३३ बजे