रुकुममा पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित एक दर्जनबढी नेकपाका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१० तकसेरा निवासी पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा हाल नेकपाका जिल्ला सदस्य तेजेन्द्र खामसहित रुकुम पूर्वका दर्जन बढी नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।
तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरू जनताको पक्षमाभन्दा पनि आफ्नो व्यक्तिगत फाइदाका लागि मात्रै काम गरेकाले आफूले नेकपा पार्टी छाडेको तेजेन्द्रले बताए । सर्वहारा वर्ग र गरिब, दलित, महिला, जनजातिको अधिकारका लागि युद्व लडेका नेताहरू अहिले भ्रष्ट्राचारमा सक्रिय भएकाले नेकपामा रहेर जनता र मुलुकको पक्षका काम गर्न नसकिने उनको भनाइ छ ।
नेकपाका नेताहरुलाई देश र जनताको विकासप्रति चिन्ता नभएकाले सबै नेपाली कांग्रेसमा आवद्ध हुनुपर्ने उनको जोड थियो । देशमा भएका ठूला परिवर्तनको नेतृत्व कांग्रेसले नै गरेकाले अब युवा बेरोजगारीको अन्त्य गरेर समृद्ध नेपाल बनाउनका लागि कांग्रेसले मात्रै सक्ने भएकाले सबै युवाहरुले सहयोग गर्नुपर्ने तेजेन्द्रको भनाइ छ ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस रुकुम पूर्वका जिल्ला सभापति केशरमान रोकाले अविर र माला लगाएर स्वागत गरेका थिए । कांग्रेस जनताको पार्टी भएकाले सधैं आफूले हारेर भएपनि मुलुक र जनतालाई जिताउँदै आएको उनको दाबी छ ।
‘स्थानीय तहको निर्वाचनमा युवाहरुलाई आफ्नो पार्टीको सरकार बनेपछि गाउँमै रोजगारीको व्यवस्था गर्ने आवश्वासन दिइयो,’ सभापति रोकाले भने, ‘तर तीनै तहमा सरकारको नेतृत्व गरेका नेकपाका नेताहरु भ्रष्टाचार र आफन्तलाई संरक्षण गर्ने बाहेक अरु केही काम गर्न नसक्दा युवाहरु कांग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ ।








