एसिड आक्रमण गर्नेलाई कडा कानुन



सरकारले एसिड आक्रमणकारीविरुद्ध कडा कानुन बनाउने भएको छ । यसका लागि मस्यौदा तयार भइरहेको छ । आगामी मन्त्रिपरिषद् बैठकबाट प्रक्रिया अगाडि बढ्ने भएको हो ।

आज बालुवाटारमा यसबारे परामर्श गर्दै प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गर्ने बताएका हुन् । अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरुलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्री ओलीले दिए ।

ओलीले भने, ‘एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजश्वमा दाखिला नगरी सिधै पीडितलाई भराउने र अपराधीलाई उम्किन नदिन तत्काल उसको सम्पत्ति रोक्का गर्ने कानुनी प्रवन्ध गर्नु आवश्यक छ’ प्रधानमन्त्री ओलीले भने, ‘एसिड आक्रमणबाट मानिसमा शारीरिक चोटपटक मात्रै लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिक लगायत बहुपक्षीय दुष्प्रभाव पार्छ । त्यसको समेत उपचार गर्ने प्रवन्ध गर्नु पर्छ ।’

राज्यका अपराध अनुसन्धान, स्वास्थ्य, शिक्षा, रोजगारी सम्बन्धी निकायका प्रमूखहरुलाई समेत राखेर निर्देशन दिएपछि यस सम्बन्धी थप ब्यवस्था मन्त्रिपरिषद्को आगामी बैठकले गर्ने प्रधानमन्त्री ओलीले बताए । उनले भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत बताए

प्रकाशित मिति : भदौ २५, २०७७ बिहिबार  १० : ४६ बजे