नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा रोक लगाएका छन् ।

पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन पछी  लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा राखेर प्रकाशनमा ल्याएको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक हालका लागि वितरण नगर्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार पाठ्यक्रम विकास केन्द्रले प्रकाशन गरेको पुस्तकका शब्दहरु कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको टिप्पणी सम्बन्धित मन्त्रालयबाट भएपछि तत्काललाई उक्त पुस्तक बजारमा नल्याउन सरकारले निर्देशन दिएकाे हाे।

नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । लिम्पियाधुरालगायत क्षेत्र समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गर्नुअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटरमात्र थियो ।

पुस्तकमा उल्लिखित विवरणलाई लिएर परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : आश्विन ६, २०७७ मंगलबार  १० : ३१ बजे