कोरोना अस्पताल बुटवलमा उपचाररत दुई जना संक्रमितको मृत्यु



बुटवल । बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । सात दिनदेखि अस्पतालको भेन्टिलेटरमा रहेका नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवकको मृत्यु भएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२:५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो ।

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार  २ : ५९ बजे