काठमाडौं । सत्तारुढ नेकपा अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल बिना निष्कर्ष टुंगिएको हो ।
बालुवाटार स्रोतका अनुसार आइतबार पनि दुई अध्यक्षबीच यही विषयमा छलफल भएको थियो। दुई अध्यक्षबीच कुरा नमिलेपछि मन्त्रिपरिषद पुनर्गठन केही ढिलो हुने अनुमान गरिएको छ।
प्रधानमन्त्री ओलीले १-२ दिनमै मन्त्रिपरिषदको पुनर्गठन गर्न चाहेपनि टुक्र्याइएका मन्त्रालय र खाली भएका मन्त्रालयमा मात्रै मन्त्री थप्न लागेकाले कुरा नमिलेको प्रचण्ड निकट श्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले तीन वटा मन्त्रालय थप्ने तयारी गरेका छन् भने तीन मन्त्रालय खाली छन्। यस्तो अवस्थामा तीन राज्यमन्त्री हटाएर ६ जना मन्त्री थप्न सकिन्छ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार भने प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनका लागि केही समय कुर्नु पर्ने धारणा राखेका छन्।
ओलीनिकट स्रोतका अनुसार प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बनाउन चाहेका छन्। गौतमबारे मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।








