सत्तारुढ नेकपामा फेरी भाडभैलो शुरु भएको छ ।केन्द्रमा लामो समय चलेर रोकिएको भाडभैलो अब प्रदेश तिर सरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका छन ।१८ जना सांसदले आइतबार दिउँसो १ बजे मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशसभा संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको बताइएको छ ।
पूर्व एमालेबाट प्रदेशसभा बनेका सांसद यामलाल कँडेलको नेतृत्वमा प्रदेशसभाका १८ सदस्यको हस्ताक्षर आइतबार संसदीय दलका सचेतक गुलावजंग शाहलाई बुझाएका हुन् । सचेतक शाहले आफूसमक्ष १८ सांसदको हस्ताक्षर आइपुगेको पुष्टि गरेका छन् । संसदीय दलमा छलफलपछि मात्र के गर्ने भन्नेबारे निर्णय लिइने उनको भनाइ छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरुमा पूर्वएमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । कर्णाली प्रदेशसभामा नेकपाका ३३ जना सांसद रहेका छन् । अविश्वासको प्रस्तावका पक्षमा बहुमत सदस्य देखिएपछि मुख्यमन्त्री शाहीको पद संकटमा परेको छ ।
उनीहरुले नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४ (१) बमोजिम अविश्वासको प्रस्ताव दर्ता गरिएको भन्दै नियम २४ को (१, २, ३, ४) बमोजिम यथाशक्य बैठक बोलाएर मार्ग प्रसस्त गर्न आग्रह पनि गरेका छन् ।








