भ्रष्टाचार र कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शनसहित कोणसभा गरेको हो ।सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निःशुल्क उपचार बन्द गरेको कारण विरोधमा प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।उनले भने, ‘हाम्रा साथीहरुलाई प्रहरीले हिरासतमा चरम यातना दिएको छ । कसैलाई पनि नियन्त्रणमा लिएर कुटपिट गर्नु यातना दिनु गैरकानुनी हो त्य्वस्ता प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्छ । यो पन्चायती ब्यबस्था हैन गणतन्त्र हामीले नै लडेर ल्याएको हो । हामी सबैलाई खबरदारी गर्न चाहन्छौं, कानुनभन्दा माथि कुनै फुली छैन।’
अर्का महामन्त्री दीपक भट्टराईले निर्दोष नेताहरुलाई झुटा मुद्दामा फसाउने प्रपञ्च स्वरुप विभिन्न ठाउँबाट पक्राउ गरी दिपक ओझा लगायत आफ्ना ३ जना नेताहरुलाई प्रहरी हिरासतमा कोरोना भाइरसबाट संक्रमित गराएको भन्दै सो को जिम्मेवारी पनि प्रहरी अधिकारीले नै लिनुपर्ने भन्दै नेपाल प्रहरी नेकपा प्रहरीमा परिणत भएको बताए ।महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवाली र उनको नेतृत्वमा रहेका प्रहरी अधिकृतहरुले हिरासतमा रहेका आफ्ना कार्यकर्तालाई चरम यातना दिएको नेविसंघले जनाएको छ ।
मानवअधिकार सम्बन्धी विश्वब्यापी मान्यता र राष्ट्रिय–अन्तर्राष्ट्रिय घोषणालाई समेत लत्याउँदै हिरासतभित्र आफ्ना विद्यार्थी नेतालाई चरम मानसिक र शारीरिक यातना दिइनु अत्यन्तै गैरन्यायिक भएको भन्दै सो बारेमा परिवारले राष्ट्रिय मानव अधिकार आयोग लगायत अन्य निकायमा उजुरी गरिसकेको र यातना दिने अनुसन्धान अधिकृत र सम्बन्धित प्रहरी कार्यालयका अधिकारीलाई यातना क्षतिपूर्ति सम्बन्धी कारबाहीका निम्ति आफन्त र नेपाल विद्यार्थी संघले थप कदम चाल्ने पनि नेविसंघले बताएको छ ।
नेविसंघले सरकारले आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएकोमा पनि खेद प्रकट गरेको छ । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोपमा नेविसंघका केही नेता कार्यकर्ता पक्राउ परेकामा नेविसंघले विरोध जनाउँदै आएको छ ।
प्रदर्शनपछि संघका उपाध्यक्ष मुक्तिराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको विरोध सभालाई महामन्त्रीहरु तिमल्सिना, भट्टराई, युबराज पाण्डे र मनोज वैद्य लगायतले सम्बोधन गर्दै सरकरी असंवेदनशीलता, ज्यादति र प्रहरी दुर्व्र्यवहारको भत्सर्ना गरेका थिए ।
भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै नेविसंघले काठमाडौं लगायत देशको विभिन्न ठाउँहरुमा प्रदर्शन गरिरहेको छ ।








