नेकपा भित्रको बिबाद पेचिलो भइरहेका बेला प्रधानमन्त्री ओलिले नेता बामदेब गौतम लाई बालुवाटार बोलाएर फकाउने प्रयास गरेका छन । आज मध्यान्ह भएको दुई नेताबीचको भेटमा नेकपाभित्रको पछिल्लो विवाद समाधान गर्नेबारे छलफल भएको भनिए पनि भेटमा आफुलाई साथ दिन बामदेबलाई प्रधानमन्त्री ओलिले आग्रह गरेको र त्यसो गर्दा बामदेबलाई मन्त्री बनाउने प्रस्ताब समेत गरेको बताइएको छ ।
ओलीले गौतमलाई बोलाएर पार्टी विवाद समाधानमा महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेका थिए । उनले विरोधी मोर्चाका नेताहरुलाई सहमतिमा ल्याउन भूमिका खेल्न भनेका थिए । भेटमा ओलीले गौतमलाई सरकारमा सहभागी हुन समेत आग्रह गरेको बुझिएको छ । विशेषगरी पूर्व एमालेबीचको एकता देखि सहमति बनाएर जाने विषयमा समेत छलफल भएको थियो ।
गौतमले पार्टीमा उठेको विवादबारे समिक्षा गर्नुपर्नेमा जोड दिएका थिए । विश्वस्त स्रोतका अनुसार गौतमले ओलीलाई आत्मालोचना गरेर गल्ती र व्यवहार सुधार्न सुझाव दिएका थिए । उनले समस्या ओलीमै रहेको र समाधान पनि त्यहींबाट खोजिनुपर्नेमा जोड दिएको बुझिएको छ ।
नेकपाभित्र ओलीविरोधी मोर्चा मजबुत हुँदै कडा कदम चाल्ने तयारीमा पुग्दा गौतमलाई बालुवाटारमा भेटका लागि बोलाइएको हो । यसअघि गत हप्ता ओलीनिकटस्थ नेताहरु विष्णु पौडेल र शंकर पोखरेल भैसेपाटी पुगेर गौतमलाई महत्वपूर्ण प्रस्ताव राखेका थिए । तर, गौतमले अस्वीकार गरेका थिए ।गौतमलाई सरकारमा उपप्रधानमन्त्रीसहित अर्थ या गृह दिएर आफ्नो पक्षमा पार्न ओली सक्रिय भएका छन् । आजको भेटलाई यही अर्थमा बुझिएको छ ।
यसै बिच पार्टी भित्रको बिबाद उत्कर्षमा पुगेकै बेला शनिबार साँझ मात्र प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटका लागि पुगेका थिए। शनिबार दिउँसो ४ बजेतिर शितल निवास प्रवेश गरेका प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग २ घण्टाभन्दा लामो छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीसहित उनी निकट थप नेताहरुसमेत राष्ट्रपतिसँगको भेटका लागि पुगेका थिए। प्रधानमन्त्रीले पछिल्लो पटक देखिएको विवादका विषयमा कुराकानी गरेको स्रोतको दाबी छ








