सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन कुनैपनि हालतमा फिर्ता नगर्ने स्पष्ट पारेका छन् ।
आफ्नै पार्टीका स्थायी कमिटी सदस्यहरु हरिबोल गजुरेल र टोपबहादुर रायमाझीसँग आज आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा दाहालले सचिवालयमा पेश गरेको प्रतिवेदन फिर्ता लिने कुनै सम्भावना नै नभएको जिकिर गरेका छन् ।
भेटमा प्रचण्डले प्रस्ताव फिर्ता नहुने र पार्टीमा देखिएका समस्याहरूको छलफलबाहेक अर्को विकल्प नभएको बताएको नेताहरूको जिकिर छ ।उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवेदन कुरिरहेको पनि बताएका थिए ।
दाहालको भनाई उद्धृत गर्दै गजुरेलले भने,‘यो राजनीतिक प्रतिवेदन आउँदैमा आँत्तिनुपर्दैन् । मैले उठाएका कुरा जनताले थाहा पाएका छन् । पार्टीभित्र पनि बहस चलेको छ । मैले त्यसलाई लिपिवद्ध गरेर मात्रै ल्याएको हुँ। त्यसलाई गलत रुपले हेर्नुभएन । ओलीजीले कस्तो प्रतिवेदन ल्याउनुहुन्छ ? त्यो हृर्नुपर्छ । त्यसले छलफल र समस्या समाधान गर्न मद्दत पुर्याउँछ । मेरो प्रतिवेदनले पार्टी फुट्दैन । पार्टी नफुटाउनको लागि मैले पहल गरिरखेको छु ।








