ओखलढुंगामा राष्ट्रिय परिचय पत्र दर्ता अभियान सुरु



ओखलढुंङ्गाका स्थानीय तहमा राष्ट्रिय परिचय पत्र दर्ता अभियान शुरु गरिएको छ । प्रत्येक नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेखिकरण गर्दै हरेक सेवा प्रवाहमा सरलता ल्याउन परिचय पत्र दर्ता अभियान सुरु गरिएको हो ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको आयोजना र जिल्ला प्रशासन कार्यालय र खिजीदेम्वा गाउँपालिकाको सहजीकरणमा दर्ता अभियान थालेको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । व्यक्तिको सम्पूर्ण विवरण डिजिटलाइजेशन गरी सेवा प्रवाह छिटो छरितोरुपमा गर्न र विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरणको अभियान थालेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

कार्तिक १८ गते देखि मानेभञ्ज्याङ्ग गाउँपालिका बाट सुरुगरीएको अभियानमा एक हजार ४ सय नागरिक राष्ट्रिय परिचय पत्र लिने प्रकृयामा छिरेको गाउपालिकाले जनाएको छ । कार्तिक १८ बाट सुरुगरीएको अभियान दशै तिहारको विचमा मानेभञ्ज्याङ्ग गाउपालिकामा सम्पन्न भइसकेको छ । अहिले खिजीदेम्वा गाउँपालिकाका वडा वडामा परिचय पत्रमा समावेश गरिने विवरण संकलन तथा फारम दर्ता अभियान चलिरहेको खिजीदेम्बा गाउपालिका वडा नम्बर ५ का अध्यक्ष राम सुनुवारले बताउनुभयो ।

दर्तामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले सहजीकरण तथा अनुगमन गर्ने खिजीदेम्वा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाका ९ वडाका २० स्थानमा ४० टोलीले दर्ता शुरु गरेका छन् । दैनिक एक टोलीले ३० देखि ४० जनाको विवरण दर्ता गाउने छन् । दर्ताका लागि गाउँपालिकाबासी उत्साहित छन् । जिल्लाका आठै तहमा चैत अघि सम्पन्न गर्ने गरि काम अघि बढेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । सबै नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गर्दै सवै खाले सेवा प्रवाह छिटो छरितोरुपमा गर्न तथा विद्युतीय सुशासन कायम गर्ने उद्देश्यले राष्ट्रिय परिचय पत्र वितरण लाई सरकारले अभियानकै रुपमा थालेको हो ।

नागरिकको वैयक्तिक तथा जैविक विवरण डिजिटल अभिलेख गरि सेवा प्रवाह छिटो, विद्युतीय सुशासन कायम सहयोग पुग्ने विश्वास गरिएको खिजीदेम्बा गाउपालिका प्रमुख वेद बहादुर रोक्काले बताउनुभयो । जिल्लाभर दर्ता सकेर परिचय पत्र वितरण गर्ने विभागको तयारी छ । कोरोना भाइरस संक्रमणका कारण विभिन्न जिल्लाको अभियान अबरुद्ध भएको अवस्थामा ओखलढुङ्गामा संक्रमण शून्य भएकाले सञ्चालन गर्न जनप्रतिनिधिहरुले पहल गरेका थिए ।
अभियानमा खटिएका टोलीलाई सहयोग गर्न गाउँपालिकाले वडा कार्यालयका कर्मचारी तथा तथा स्वयं सेवक परिचालन गरेको छ । राष्ट्रिय परिचय पत्रमा व्यक्तिका वैयक्तिक तथा जैविक विवरण, उसको सामाजिक तथा आर्थिक स्तर, धर्म तथा संस्कार सबै अभिले हुने भएकाले परिचय पत्रको अभिलेखबाट विकास निर्माणको योजना निर्माण देखि अपराध अनुसन्धानमा समेत सहयोग पुग्ने छ ।

यो वर्ष देशभरका १ करोड नागरिकको वैयक्तिक तथा जैविक विवरण अभिलेख गर्ने लक्ष्य विभागले राखेको छ । वडा तहसम्मै टोली खटाएर विवरण दर्ता सकिएपछि परिचय पत्र वितरण शुरु हुने छ । गाउँमै टोली आउँदा अभिलेख गराउन छुटेमा जिल्ला प्रशासन कार्यालय जानु पर्ने भएकाले स्थानीय तहका जनप्रतिनिधीले आफ्ना नागरिकको अभिलेख कायम गराउन सहजिकरण र सहयोग गर्न आवश्यक छ ।

अभिलेखमा विस्तृत व्यक्तिगत विवरण, औंठाछाप, हस्ताक्षर, रेटिना तथा पुरा आकारमा फोटो समेत स्क्यानिङ गरेर लिइन्छ । यसबाट सेवा प्रवाह र अन्य अनुसन्धानमा सहज हुने विश्वास छ । २०७२ सालमा पाँच वर्ष पहिले प्रदेश नं. १ को पाँचथरबाट शुरु भएको अभियान एक वर्षभित्र सम्पन्न गर्ने विभागले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  १२ : ४९ बजे