निर्णय कार्यन्वायन नगर्न चिशंखुगढीलाई अदालतको आदेश



शिक्षक सरुवा सम्बन्धी चिशंखुगढी गाउपालिकाले गरेको निर्णय कार्यन्वायन नगर्न उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले अन्तरिम आदेश जारी गरेको छ । शिक्षा ऐन २०२८ र नियामावली २०५९ हाल कायमै रहेको अवस्थामा स्थानीय शिक्षा ऐनमा उल्लेखित कुराहरु बाँझीएको हुँदा सो निर्णय कार्यन्वायन नगर्न नगराउन अन्तरिम आदेशद दिएको हो ।

२०७७ असोज २९ गते गाउपालिकाले वहुमतका आधारमा ऐन तथा नियामावली मिचेर राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई दुख दिने नियतका गरिएको निर्णय खारेजको माग गर्दै शिक्षक शंकर प्रसाद कोइराला र डम्बर कुमार पोखरेलले मुद्दा दायर गर्नुभएको थियो । गाउपालिका र अध्यक्ष निशान्त शर्मा समेत लाई विपक्षि बनाई दायर गरिएको रिटमा न्यायधिश श्यामजी प्रधानको एकल इजलासले पालिकाले गरेको निर्णय कार्यन्वायन नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।

नेपालको कानुन खारेज वा संसोधन नभइसकेको अवस्थामा शिक्षकको सरुवा गर्ने अधिकार सो ऐनको दफा १६ ज तथा नियामावलीको नियम ९९ बमोजिम नभएकाले प्रस्तुत निवेदनको टुंगो नलागे सम्म शिक्षा समितिले गत असोज २९ गरेको कार्यरत विद्यालयबाट सरुवा गर्ने निर्णय कार्यन्वायन नगर्न अन्तरिक आदेश जारी भएको उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले जनाएको छ । अन्तरिम आदेश जारी गनुृ नपर्ने कारण तथा प्रमाण भएका गाउपालिकालाई १५ दिनको म्याद दिई लिखित जवाफ पेश गर्न भनेको छ ।

गाउपालिकाले गरेको उक्त निर्णय संघिय कानुनसंग बाँझीनेगरी गलत मनशायका साथ भएको देखिएकाले सम्मानीत अदालत बाट अन्तरिम आदेश जारी भएको वरिष्ठ अधिवक्ता हर्कबहादुर राइले बताउनुभयो । आफैले बनाएको ऐनलाइ समेत मिचेर वडा शिक्षा समिति गठन नगरि गाउपालिका अध्यक्ष र प्रमुख प्रसासकिय अधिकृतले आफुअनुकुल हुनेगरी शिक्षकहरुको सरुवा गर्ने निर्णय वेमौसमी बाजा भएको स्थानीय एवं नागरिक समाजका अगुवा गोपालमान थापाले बताउनुभयो । कोरोना भाइरसको संक्रमणले आक्रान्त भएको शिक्षा क्षेत्रलाई सुधार गर्न बैकल्पीक शिक्षण विधिको खोजी गर्नुपर्ने समयमा शिक्षकहरुलाई राजनीतिक आस्थाका आधारमा सरुवा गर्नुले शिक्षा क्षेत्र अझ तहसनहस हुने उवाहाको भनाइ छ ।

गाउपालिकाले गरेको नियोजित निर्णयलाई नमान्ने भन्दै सरुवा गरिएका शिक्षकहरुले रमना नबुझेको बताएका छन् । चिशंखुगढी गाउपालिका गाउशिक्षा समितिले ७ जना प्रधानाध्यापकलाई जिम्मेवारी बाट हटाएको र ४३ जना शिक्षकलाई कार्यरत विद्यालय बाट पालिका भित्रकै अन्य विद्यालयहरुमा सरुवा गर्ने निर्णय गरेको थियो । पालिकाको निर्णय पश्चात वडा नं. ३, ४ र ५ ले आ–आफ्ना वडा भित्रका विद्यालयहरुलाई सरुवा भइ जाने शिक्षकहरूलाई रमना नदिनु र आउनेलाई हाजिर नगराउन पत्राचार गरेको छ ।

प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार  १२ : ५२ बजे