अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ। कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो।
देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ। भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनुपर्ने व्यवस्था गरिएको छ।
तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागू हुनेछ। झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।










