नेपालको रोजगारीमा न्यून सेवासुविधा,दसैंमा पनि रोकिएन लागि विदेशिने युवाको लर्को



५ कात्तिक, काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा विदेशिने क्रम जारी छ।

दसैँको उल्लास, पारिवारिक भेटघाट र मान्यजनबाट टीका तथा जमरा ग्रहण गर्ने चटारो चलिरहेका बेला पनि आफ्नो भविष्य निर्माण र परिवारको आर्थिक अवस्था सुधार्ने उद्देश्यले सयौँ नेपाली युवायुवती विदेश प्रस्थान गरिरहेका छन्।

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पनि विदेश जाने यात्रुको भीड देखिन्छ। विमानस्थल हुँदै विभिन्न देशका लागि प्रस्थान गर्ने नेपालीमध्ये अधिकांश रोजगारीको खोजीमा विदेश जाने युवायुवती छन्। यसका साथै उच्च शिक्षा हासिल गर्न, परिवारका सदस्यलाई भेट्न तथा अन्य व्यक्तिगत कामका लागि विदेश जाने नेपाली पनि विमानस्थलमा देखिन्छन्।

चाडपर्वका बेला परिवारसँग बसेर खुसी साटासाट गर्ने, आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने र मान्यजनबाट आशीर्वाद लिने नेपाली परम्परा छ। तर, पछिल्ला केही वर्षदेखि रोजगारी, आर्थिक अवसर र सुनौलो भविष्यको खोजीमा विदेशिने युवाको सङ्ख्या बढ्दो छ।

अन्तर्राष्ट्रिय विमानस्थलमा देखिने युवाको भीडले नेपाली समाजको बदलिँदो आर्थिक तथा सामाजिक अवस्थालाई चित्रण गर्छ। स्वदेशमै अध्ययन तथा पेसा–व्यवसाय गर्न छाडेर विदेशतर्फ आकर्षित हुने प्रवृत्तिका कारण गाउँघर रित्तिँदै गएका छन् भने खेतबारी बाँझिने क्रम पनि बढेको छ।


यसैबीच, रोजगारीका लागि विदेशिन लागेका सिरहाका लखनकुमार यादवले नेपालमा पर्याप्त रोजगारीका अवसर नहुँदा विदेश जान बाध्य भएको बताए। ‘योग्यता र क्षमताअनुसारको काम स्वदेशमै पाउने सुनिश्चित भइदिएको भए दसैँको बीचमा परिवार छाडेर विदेश जाने मन थिएन। आफूसहित परिवारको भविष्यका लागि विदेश जाँदै छु’, उनले भने।

शिक्षा, स्वास्थ्य र परिवारको दैनिक खर्च व्यवस्थापनसँगै आर्थिक अवस्था सुधार्ने तथा भविष्यका लागि केही बचत गर्ने उद्देश्यले नेपाली युवा विदेशिने गरेको उनको भनाइ छ।

विमानस्थलमा भेटिएका गुल्मीका प्रकाश खत्रीले स्वदेशमा पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा युवा पुस्ता आफ्नो भविष्य निर्माणका लागि विदेशिन बाध्य भएको बताए।

‘नेपालमा रोजगारीको अवसर छैन, भए पनि सेवासुविधा न्यून छ। एकाधबाहेक विदेश जानेहरूको आर्थिक, शैक्षिक तथा सामाजिक हैसियत राम्रो देखिएकाले चाडपर्वमा रमाउनुभन्दा पनि सुनौलो भविष्यका लागि विदेशलाई नै रोज्नुपर्ने अवस्था छ’, उनले भने।

यसैगरी, छोरालाई विदेश पठाउन विमानस्थल आएका कैलालीका ठक्कर कलेलले वैदेशिक रोजगारीले परिवारको आर्थिक अवस्था सुधार्न तथा जीवनस्तर उकास्न सहयोग पुर्‍याए पनि देशभित्रको सक्रिय जनशक्ति यसरी विदेशिँदा दीर्घकालीन चुनौती उत्पन्न हुन सक्ने बताए।

दक्ष र मेहनती युवा विदेश पलायन हुँदा कृषि, उद्योग, निर्माण, पर्यटन तथा उत्पादनमूलक क्षेत्रमा आवश्यक जनशक्तिको अभाव हुन सक्ने उनको चिन्ता छ।

प्रकाशित मिति : कार्तिक ५, २०८३ बिहिबार  ७ : २३ बजे