पछिल्लो समय सडकमा देखिएको प्रदर्शनलाई नेपाली कांग्रेसले बर्तमान ब्यबस्थाप्रती नभै सरकारप्रतिको असन्तुष्टि भएको बताएको छ । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले सरकार संविधानको मर्मअनुसार नचल्दा सडकमा असन्तुष्टि देखिएको बताएको हो ।
बैठकमा काँग्रेसले सरकारको काम कारबाही सहीरुपमा हुन नसकेको, लोकतन्त्र विरोधी गतिविधि सरकारबाटै भएको, कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको, जनभावनाअनुरुप काम गर्ने नसकेको जस्ता कारणले सरकारप्रति नागरिकमा वितृष्णा बढेको र सोही अनुरुप असन्तुष्टिका स्वरहरु सडकमा देखिएको काँग्रेसको भनाइ छ ।
बैठक पछी बोल्दै काँग्रेस सहमहामन्त्री डा प्रकाश शरण महतले भने, ‘सरकारले ठीक ढंगबाट काम नगर्दा अहिलेको अवस्था आएको हो । यो सिस्टमको खराबी होइन तर सरकार सञ्चालन गर्नेहरु सच्चिन जरुरी छ ।’
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजय गच्छदार, विमलेन्द्र निधि र सहमहामन्त्री महत सहभागी थिए ।








