चैतदेखि बन्द रहेको चिडियाखाना आजबाट खुल्यो



गत चैत ७ गतेदेखि बन्द भएको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखा विहीबारदेखि खुल्ने भएको छ ।कोरोना सङ्क्रमण देखिना थालेसगै चिडियाखाना बन्द गरिएको थियो ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा . चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार यसअघि झैँ हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुनेगरी नै मापदण्ड तयार गरिएको छ । तर, एक व्यक्ति बढीमा डेढ घण्टामात्र बस्न पाउने र बालबालिकालाई खेलाउन नपाइने नियम छ ।

भिडभाड व्यवस्थापन गर्न एकपटकमा बढीमा सात सयदेखि आठ सय जनालाई मात्र चिडियाखाना प्रवेश गर्न दिइने छ । त्यसपछि अवलोकनकर्ताको संख्या धेरै भएमा जति व्यक्ति अवलोकनपछि बाहिरिन्छन् त्यति नै संख्यामा मात्र नयाँ प्रवेश गर्न दिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै चिडियाखाना प्रवेश क्षेत्रमा सेनिटाइजरको व्यवस्था गरिएको छ । अवलोकनकर्ता सबैले मास्क अनिवार्य लगाउनुपर्ने छ । यसैगरी चिडियाखानाभित्र बसेर खान, वन्यजन्तुलाई खुवाउन र छुन पाइने छैन । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरी विहीबारदेखि चिडियाखाना खुल्न लागेको हो ।

चिडियाखामा अवलोकन गर्न हरेका नेपालीका लागि १ सय ५० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ भने नेपाली विद्यार्थी तथा ज्येष्ठ नागरिकले ९० रुपैयाँमै चिडियाखानामा प्रवेश गर्न पाउने छन्

प्रकाशित मिति : मंसिर २५, २०७७ बिहिबार  ४ : ०५ बजे