नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अबको नेतृत्व कोइराला परिवारबाट हुने बताएका छन्।
नेपाल कांग्रेसको घोषित देशव्यापी आन्दोलनलाई सम्बोधन गर्न पुर्ख्यौली थलो विराटनगर पुगेका कोइरालाले सोमबार कोइराला परिवारबाट एक जना अबको कांग्रेसको सभापति हुने दाबी गरेका हुन्।
सल्लाहअनुसार नै तीनमध्ये एक जना सभापतिको उम्मेदवार बन्ने र सहजै जित्ने दाबी कोइरालाले गरेका हुन्।
उनले डा। शेखर कोइराला, सुजाता कोइराला र आफूबीच सल्लाह गरिकन नै एक जना सभापतिको उम्मेदवार हुने बताए। ‘हामी कोइराला परिवारमा तीन जना उम्मेदवार हुने व्यक्ति छौं, हामी बसेर सल्लाह गरिकन नै एक जना उम्मेदवार बन्छौं,’ कोइराला निवासबाट सोमबार बिहान शशांकले पत्रकारहरूसँग भने।
उनले महाधिवेशन फागुनमा हुन सम्भव नरहेको बताए। कोइरालाले पार्टीको तल्लो तहसम्मको अधिवेशन, कोरोना संक्रमणको अवस्थालगायत कारणले फागुनमा महाधिवेशन हुन नसक्ने तर जेठमा जसरी पनि हुने बताए।
कोइराला सोमबार कांग्रेस विराटनगरमा गर्ने प्रदर्शनको नेतृत्व गर्दैछन्। उनले कोरोना महामारीको बीच सरकारविरूद्ध आन्दोलन गर्नु राजनीतिक बाध्यता रहेको बताए। ‘सरकार भ्रष्टाचार, अनियमितता, संघीयताविरोधी र सर्वसत्तावादी बन्दैछ, त्यसैले यो सरकारविरूद्ध आन्दोलन गर्नु हाम्रो राजनीतिक बाध्यता हो,’ कोइरालाले भने।
अर्को एक प्रसंगमा कोइरालाले नेपालमा हिन्दुराष्ट्र हुनुपर्ने र यो जनताको माग रहेको बताए। उनले हिन्दुराष्ट्रका लागि भोलि आवश्यक परे जनमतसंग्रह गर्न तयार हुनुपर्ने पनि बताए। ‘हाम्रो पार्टीले बहुमत ल्यायो भने भोलि हामी जनमतसंग्रह गर्न तयार हुनुपर्छ, जनताको माग पनि त्यही छ,’ कोइरालाले भने।








