३१५ केन्द्रीय सदस्यको हस्ताक्षर सहित नेकपा प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा



नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूह ३ सय १५ जना केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेको छ । नेकपाको निर्वाचन आयोगमा कुल दर्तामा रहेको ४ सय ४१ केन्द्रीय सदस्य मध्ये ३ सय १५ जनाको हस्ताक्षर लिएर उक्त समूहका नेताहरु निर्वाचन आयोग पुगेका हुन् । पार्टीमा भने ४ सय ४७ मौजुदा केन्द्रीय सदस्य रहेको तथ्यांक छ ।

हाल रहेको कमिटी सदस्यमध्ये प्रचण्ड पक्षमा दुई तिहाई रहेको देखिन्छ । प्रचण्ड र माधव पक्षबीच जोड्दा नेकपाभित्र उनीहरुकै बहुमत थियो । यही बुझेर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय कमिटी विस्तार गरी ११ सय ९९ पुर्याएका थिए । जसमध्ये ५ सय ५६ जनालाई हिजो नै केन्द्रीय सदस्य बनाएर सपथ गराएका थिए । तर, ओलीको निर्णयलाई प्रचण्ड समूहले अवैधानिक भनेको छ ।

नेकपा विभाजन भएपछि केन्द्रीय कमिटीको सदस्य संख्या हस्ताक्षरसहित बुझाउने प्रतिष्पर्धा चलेको हो । पार्टीको नाम, झण्डा र चुनाव चिन्ह हात पार्न नेताहरुबीच यो प्रतिष्पर्धा चलेको हो ।

प्रकाशित मिति : पुस ८, २०७७ बुधबार  ११ : ३० बजे