ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर १० वेतिनी स्थित केन्द्रीय विद्युत विस्तार आयोजनामा ठुलो भ्रष्टाचार भएको छ । केन्द्रीय विद्युत विस्तारका लागि नगरपालिका बाट २०७५–०७६ मा प्राप्त पुँजीगत पूर्वाधार विकास अनुदान रकममा ठुलो भ्रष्टाचार भएको हो ।
नगरपालिकाले जनसहभागिता सहित १५ लाख ९९ हजार ६ सय ३७ रुपौया स्टीमेट गरिएको केन्द्रीय विधुत पोल तार ट्रासफर्मर खरिद योजनाका लागि १४ लाख अनुदान उपलब्ध गराएको थियो । जसमध्य करिव ४ लाख खर्च गरी बाँकी रकमको फर्जी विल बनाएर भ्रष्टाचार गरेको योजना अनुगमन समितिका संयोजक जिवनाथ धमलाले बताउनुभयो । विद्युत प्राधिकरण र नगरपालिका बाट सूचना माग गरी अध्यान गर्दा योजनाको रकम हिनामिना गरेकोे पाइएको धमलाको भनाइ छ । प्राधिकरणले दिएको ७३ थान पोल गाड्न र खाजा खर्च गरी अधिक्तम चार लाख भन्दा खर्च नभएको वाहाले जिकीर गर्नुभयो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुंगाबाट बाट पोल, तार र ट्रासफर्मर अनुदानमा ल्याएर पाइएको छ । सो योजनाका लागि प्राधिकरणले ८ मिटरका ६६ थान, ९ मिटरका ७ थान पोल, ९ थान स्टे सेट, ०.०३ को ५ कि.मि तार र २५ के.भी को १ थान ट्रासफर्मर उपलब्ध गराएको नेपाल विद्युत प्राधिकरण ओखलढुंगा वितरण केन्द्रले जानकारी दियो । उपभोक्ता समितिले नगरपालिकामा पेश गरेको विल भरपाएमा ९ मिटरका १० थान पोल खरिद गरेको उल्लेख छ । तर उक्त पोल फिल्डमा भेटिदैनन् ।
विद्युत विस्तार योजनामा अनियमितता भएको विषयमा सम्बन्धि पक्षबाट छानविन नभएको स्थानीयले गुनासो गरेका छन् । विद्युत योजनामा व्यापक भ्रष्टाचार भएको प्रमाणसहित प्रमुख जिल्ला अधिकारी लगायतका निकायमा ध्यानाकर्षण गराउदा समेत समयमै छनविन नभएको स्थानीय गुणराज धमलाले गुनासो गर्नुभयो । ‘बेतिनीबासीहरुले वडा अध्यक्ष समेतको संलग्नतामा भएको अनियमितताको छानविन गर्न नगरपालिका र प्रमुख जिल्ला अधिकारीलाई पटक पटक ध्यानाकर्षण गराएका छौं, धमलाले भन्नुभयो, ‘तर अझै छानविन हुन सकेको छैन ।’
नगरपालिकाले विनियोजन गरेको बजेट बाट तार र पोल किनेको भन्दै वडा अध्यक्ष दामोदर धमलाको मिलेमतोमा उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमलाले फर्जि विल बनाएर योजना फरफारक गरेको नेकपा जिल्ला कमिटी सदस्य डुकराज धमलाले आरोप लगाउनुभयो । लाहान स्थित नमामी सप्लायर्सले जारी गरेको विल अनुसारका पोल तथा तारहरु फिल्डमा एउटा पनि नभएको वाहाले जानकारी दिनुभयो । ८ फुटे र ९ फुटे सबै पोलहरु विद्युत प्राधिकरणले दिएको र तार समेत पुराना प्रयोग गरी आयोजना बाट मोटो रकम अनियमितता गरेको पाइएको वाहाले बताउनुभयो ।
स्थानीय नागरिकले पटक पटक ध्यानाकर्षण गराउदा समेत स्थानीय तह र प्रशासनले त्यसलाई बेवास्था गरेको, अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुर्याएको उजुरीलाई सहजीकरण गर्नुको सट्टा अक्तीयारको टोलीलाई स्थलगत अनुगमनमा जानबाट रोकेर नगरपालिकाले मिलेमतोमा योजना फरफारक गरी बजेट दुरुपयोग गरेको नेपाली कांग्रेस सिद्धिचरण नगरपालिका उपसभापति रमेश धमलाले आरोप लगाउनुभयो ।
‘हाल ठड्याइएका पोल नेपाल विद्युत प्राधिकरणले दिएका हुन, योजना अनुगमन समितिका संयोजक जिवनाथ धमलाले भन्नुभयो, ‘त्यसैलाई किनेको नक्कली विल पेश गरी नागरिकलाई झुक्याएर वडा अध्यक्ष सहित उपभोक्ता समितिका पदाधिकारीले भ्रष्टाचार गरेको प्रष्ट छ ।’ जनताको नाममा आएको विकास बजेटलाई चरणबद्धरुपमा अनियमितता गरेको विषयमा उजुरी गर्दा नगरपालिकाले त्यसलाई सामान्य रुपमा लिएर अनियमिततालाई ढाकछोप गर्न लागेको वाहाको आरोप छ ।
विद्युत योजनामा भएको अनियमितताका विषयमा विल भरपाई झिकाइ अध्यान गर्दा केही कैफियत देखिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो । यसको क्षेत्राधिकार अक्तियार दुरुपयोग गनुसन्धान आयोगको भएकाले थप छानविनका लागि अक्तियार दुरुपयोग गनुसन्धान आयोग प्रदेश कार्यालय इटहरीमा फाइल पठाइ सकिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।












