काठमाडौँ, १० पुस (रासस) ः विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनःनिर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
लाभग्राही सूचीमा रहेका भूकम्प पीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दा छ लाख ३४ हजार ९७३ गुनासो सम्बोधन गरिएको छ । गुनासो सम्बोधनबाट एक लाख छ हजार ४६५ पुनःनिर्माण लाभग्राही कायम भएका छन् । गुनासो सम्बोधनबाट प्रबलीकरण लाभग्राही सूचीमा समावेश हुनेको सङ्ख्या ६७ हजार ६८१ रहेको छ । प्राधिकरणले गरेको गुनासो सुनुवाइमा चित्त नबुझ्नेले सम्बन्धित जिल्ला तहमै उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ । यसरी दर्ता गरिएका गुनासो उच्च अदालतका न्यायधीशको अध्यक्षतामा रहेको पुनरावेदन समितिले निर्णय गर्ने व्यवस्था भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ मा छ ।








