नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेसले सर्वोच्च अदालतको आदेश स्वीकार गर्ने बताएका छन् ।आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले संसद पुनर्स्थापना वा चुनाव भन्ने मुद्धा अदालतमा विचाराधीन रहेको भन्दै अदालतले गर्ने फैसला अनुसार कांग्रेस अगाडि बढ्ने बताएका हुन् ।
अदालतले संसदमा जाऊ भन्यो भने हामी संसदमा जान्छौं, उनले भने, होइन चुनावमा जाऊ भन्यो भने हामी भोट माग्न जान्छौं ।उपसभापति निधिले संसद विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको बताए ।
वर्तमान परिस्थितीको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनर्स्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुवै विकल्पका लागि नेपाली काँग्रेस तयार रहेको जानकारी दिए।
त्यसका लागि दुईवटा संवैधानिक बाटो रहेको र सर्वोच्चद्धारा संसद पुनर्स्थापना र निर्वाचनद्धारा प्रतिनिधिसभाको गठन बाहेक अन्य कुनै विकल्प नरहेको बताए ।








