नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्ने विश्वास नभएको बताएका छन्।पर्वत शंकर पोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा आज देउवाले यस्तो बताएका हुन ।
प्रजातन्त्रलाई नै खतरा हुने गरी प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको सभापति देउवाको भनाइ थियो। देउवाले थप भने, ‘प्रजातन्त्रमै खतरा हुने गरी ओलीले प्रतिनिधि सभा भंग गरे। ओलीले कहाँ चुनाव गराउँछन् ? गराउँदैनन्। चुनाव नगर्ने प्रतिनिधि सभा पनि खोस्ने, यस्तो हुन सक्छ, हामीलाई डर छ।’आफुहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको हुँदा हाल सार्बोच्चमा विचाराधीन रहेको मुद्दाबारे सडकमा आन्दोलन गरेर यो गर वा ऊ गर् भन्ने दवाव कांग्रेसले नदिने उनले प्रष्टाएका छन्।
उनले आफूलाई भेट्न बुधबार साँझ नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आएको खुलासा गरेका थिए।प्रचण्ड-नेपालले बुढानिलकण्ठ पुगेर ओलीका कदमविरूद्ध संयुक्त सडक संघर्षमा जान र प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिनुपर्नेलगायत प्रस्ताव लगे पनि देउवाले अस्वीकार गरेका थिए।
कांग्रेस सभापती देउबाको समेत भित्री सहमतिमा ओलिले प्रतिनिधि सभा भंग गरेको र बर्तमान ओलि सरकारलाई अनुकुल हुने गरी पछिल्लो समय देउबाले आन्दोलन ससक्त पार्न आनाकानी गरिरहेको आरोप बिच देउबाको यस्तो भनाइ आएको हो ।
कांग्रेस भित्र प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा उभिने कि ओलि सरकारले घोषणा गरेको चुनाबको पक्षमा भन्नेमा मत बाझिएको छ ।सभापती देउबाले चुनाबमा जाने तयारी गर्नुपर्ने धारणा राख्दै आएका छन ।
प्रधानमन्त्री ओलीले गत पुस ५ मा प्रतिनिधि सभा भंग गरेर वैशाखमा चुनाव घोषणा गरेका छन्। तर प्रतिनिधि सभा भंग गरेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ।








